७ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकैबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको सखुवापर्सौनी गाउँपालिका–०५ का ४३ वर्षीय राजेश कुमार साह तेली रहेका छन्। उनलाई ८ लाख ७ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर.०५ बिएफ ०४६९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक सुजय कुमार सिंह र मो.हमद मुस्ताक अलीको कमान्डमा खटिएको संयुक्त सुरक्षा टोलीले यो कारबाही गरेको हो।
बरामद गरिएका नोटहरूमा १ हजार दरका ५१५ वटा, ५०० दरका ५७२ वटा र १०० दरका ६० वटा नोटहरू रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका साहले उक्त नगदको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नगद र बरामद भएको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ। प्रहरीका अनुसार, सीमा क्षेत्रमा हुने अवैध कारोबार र स्रोत नखुलेको नगदको ओसारपसार नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ।















