७ असोज, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै छठपछिबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। मङ्गलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईँले हालको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै हिन्दु राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
उनले भने, “हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात-बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राख्दै आन्दोलन सुरु गर्छौँ। पुनःस्थापनाको सुनिश्चितता नभएसम्म आन्दोलन रोकिँदैन।”
प्रसाईँले सामाजिक सञ्जालमा मात्र सीमित नहुन सबै नागरिकलाई आग्रह गर्दै आन्दोलनको नेतृत्व आफैँ गर्ने घोषणा गरे। “कोठाभित्र फेसबुकमा स्ट्याटस लेखेर आन्दोलन हुँदैन। म आफू अग्रपङ्तिमा रहनेछु,” उनले जोड दिए।
उनले सन् २०४७ सालमा जारी संविधानको पुनःस्थापनाको पक्षमा रहेको स्पष्ट पार्दै धर्म, संस्कृति, राष्ट्रियता र नागरिक अधिकारका लागि व्यापक जनआन्दोलन अपरिहार्य भएको बताए।
प्रसाईँको यो घोषणा राजनीतिक वृत्तमा नयाँ बहसको सुरुआत हुने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा उनको नेतृत्वमा हुने भनिएको आन्दोलनले कस्तो रूप लिन्छ भन्ने चासो बढ्दो छ।















