Logo

८ असोज, वीरगञ्ज । पाकिस्तानले एसीसी टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोर चरणमा श्रीलंकामाथि पाँच विकेटको जित दर्ता गर्दै फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।

बुधबार राति सम्पन्न खेलमा १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाउँदै जित हात पारेको हो। पाकिस्तानका तर्फबाट मोहम्मद नवाजले २४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए। त्यस्तै, हुसन तालतले ३० बलमा चार चौका प्रहार गर्दै ३२ रनमा अविजित रहे।

ओपनर शहिबजादा फरानले १५ बलमा दुई छक्का र एक चौकासहित २४ रन जोडे भने फखर जमानले १७, मोहम्मद हरिसले १३, कप्तान सलमान अली अघाले पाँच तथा सैम अयुबले दुई रन बनाए।

श्रीलंकाका तर्फबाट महेश थिक्सेना र वानिन्दु हसरंगाले दुई–दुई विकेट लिँदा दश्मन्था चामिराले एक विकेट लिन सफल भए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३३ रनमा सीमित भएको थियो। श्रीलंकाका कामिन्दु मेन्डिसले ४४ बलमा तीन चौका र दुई छक्कासहित अर्धशतकीय ५० रन बनाए। त्यस्तै, कप्तान चरिथ असलंका २०, चामिका करुणारत्ने १७, वानिन्दु हसरंगा १५, कुशल परेरा १५ रनमा आउट भए भने पाथुम निसांका आठ, कुशल मेन्डिस शून्य र दासुन शानका पनि शून्य रनमै पभेलियन फर्किए।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए भने हरिस रौफ र हुसन तालतले दुई–दुई विकेट तथा अब्रार अहमदले एक विकेट लिए।

यसअघि श्रीलंका सुपर फोरको पहिलो खेलमा बंगलादेशसँग चार विकेटले पराजित भएको थियो। अब श्रीलंका शुक्रबार भारतसँग अन्तिम खेल खेल्नेछ। पाकिस्तान भने पहिलो खेलमा भारतसँग पाँच विकेटले पराजित भएको थियो र अब बिहीबार बंगलादेशसँग भिड्ने तालिका रहेको छ।

सुपर फोर चरणअन्तर्गत बिहीबार पाकिस्तान र बंगलादेश आमनेसामने हुनेछन् भने बुधबार भारत र बंगलादेशबीच खेल हुनेछ। यस समूहबाट शीर्ष दुई टोलीले फाइनलमा प्रवेश गर्नेछन् ।


सम्बन्धित समाचार