Logo

८ असोज, अबूधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपालीहरूलाई त्यहाँको नियम, कानुन, मूल्यमान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास, अबूधाबीले आग्रह गरेको छ।

मंगलबार एक जरुरी सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा मर्यादित र अनुशासित रहन अनुरोध गरेको छ।

दूतावासका अनुसार, पछिल्लो समय यूएईमा रहेका केही नेपालीहरूले विभिन्न गैरकानुनी गतिविधिमा संलग्न भएर समस्यामा पर्ने क्रम बढेको छ। दूतावासले यस्ता गतिविधिहरूमा मादक पदार्थ सेवन, झैझगडा, बैंकिङ कसुर, आपसी लेनदेनमा विवाद, लागूऔषध ओसारपसार, एमिरेट्स आईडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन नियमको उल्लङ्घन, र ट्राफिक नियमको अवहेलना जस्ता कार्यहरू समावेश रहेको बताएको छ।

यी सबै विषयहरू यूएईको कानुनअनुसार दण्डनीय हुने हुँदा दूतावासले सम्पूर्ण नेपाली समुदायलाई सचेत र विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई दिने भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा पनि कडाइ गरेको छ। दूतावासले यस्तो अवस्थामा झनै सतर्क र जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।


सम्बन्धित समाचार