८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको यस भेटमा दुई देशबीचको सहकार्य र विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे छलफल भएको छ।
सडक र ऊर्जा क्षेत्रमा सहकार्यका लागि आग्रह
भेटमा राजदूत सोङले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका छन् । त्यसपछि मन्त्री घिसिङले नेपाल र चीनलाई जोड्ने अरनिको राजमार्ग र स्याप्रुबेसी–रसुवागढी सडकको मर्मत तथा स्थायी सञ्चालनका लागि चिनियाँ प्रविधिको सहयोग मागेका छन् । साथै, उनले ऊर्जा र पूर्वाधार विकासका अन्य परियोजनाहरूमा पनि सहयोगका लागि जोड दिएका छन् । घिसिङले चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न आग्रह गरे।
अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई ध्यानमा राख्दै किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम अगाडि बढाउन आग्रह गरे। मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर, नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारको काममा ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्दै कामलाई गति दिन सहजीकरणका लागि आग्रह गरे।
जवाफमा राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा सहयोग गर्न चीन सधैं तयार रहेको बताए। यस भेटमा मन्त्रालयका सचिव र अन्य उच्च अधिकारीहरूको पनि सहभागिता थियो ।















