९ असोज, काठमाडौँ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन आज देशभरका दसैँघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको वैदिक विधिपूर्वक पूजाआराधना भइरहेको छ।
धार्मिक ग्रन्थअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन तापलाई ‘कुष्मा’ भनिन्छ। यी तीनै ताप नाश गर्ने देवी भएकै कारण उहाँलाई कुष्माण्डा भनिएको हो। पुराणहरूमा कुष्माण्डा देवीले सुराले भरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने उल्लेख पाइन्छ। श्री दुर्गासप्तशती (चण्डी) को देवी कवचमा समेत त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने शक्तिरूपा भगवतीका रूपमा कुष्माण्डाको व्याख्या गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको पूजाआराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजापाठ सम्पन्न भएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरी भक्तजनले शक्ति, ऐश्वर्य र विद्या प्राप्तिको कामना गरेका छन्।
नवरात्रभर घटस्थापना गरिएको स्थलमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म प्रसाद ग्रहण गरी बडादसैँ मनाउने परम्परा रहिआएको छ।
शास्त्रीय विधानअनुसार नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ। यी नौ रूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। उपत्यकामा गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी आदिमा दर्शनार्थीको भीड देखिएको छ।
उपत्यकाबाहिर पनि पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा लगायतका शक्तिपीठमा पूजाआराधना तथा दर्शनार्थीको चहलपहल बढेको छ।
धार्मिक विश्वासअनुसार नवरात्रमा कुष्माण्डा देवीसहित नवदुर्गाको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।














