Logo

९ असोज, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

बहिनी पुष्पाले दाजुको रिहाइ अब केवल पारिवारिक मात्र नभई अन्तर्राष्ट्रिय विषय बनेकाले वैश्विक मञ्चमा आवाज बुलन्द गर्न अमेरिका गएको बताएकी छिन् । यसअघि जोशी परिवारलाई इजरायल सरकारले आफ्नो देश लगेपछि त्यहाँबाट नै यो प्रस्थान सम्भव भएको र संयुक्त राष्ट्रसंघसम्म पुग्न पनि इजरायलले सहयोग गरेको बताइएको छ।

गत शनिबार हमासले विपिनसहित ४८ जना बन्धकको ‘विदाइ तस्वीर’ भन्दै सार्वजनिक गरेको दृश्यपछि परिवार थप चिन्तित बनेको थियो। विपिनका बुबा महानन्द जोशीले छोराको सकुशल रिहाइका लागि सरकारले कतारलगायतका प्रभावशाली मुलुकसँग पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भने, “सरकारले अझ सक्रिय पहल गर्ने हो भने छोराको रिहाइ सम्भव हुन्छ भन्ने विश्वास छ।”

विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन तथा काम गर्न इजरायल गएका थिए। सोही क्रममा हमासको आक्रमणमा परेर उनी बन्धक बनेका थिए। सो आक्रमणमा सहभागी १० नेपाली विद्यार्थीमध्ये १० जनाको ज्यान गएको थियो भने विपिनसहित केही विद्यार्थीलाई हमासले अपहरण गरेको थियो।

यो घटनापछि नेपाल सरकारले विभिन्न तहमा पहल गरिरहेको भए पनि ठोस परिणाम आइसकेको छैन। विपिनको परिवारले अन्तर्राष्ट्रिय दबाब र सहयोगका माध्यमबाट छिट्टै सुरक्षित रिहाइ हुने अपेक्षा व्यक्त गरेको छ।


सम्बन्धित समाचार