९ असोज, काठमाडौँ । नेपालको सार्वजनिक ऋणभार निरन्तर बढ्दै गएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म (भदौ मसान्त) सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा रहेको २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ भन्दा उल्लेखनीय वृद्धि हो ।
प्राप्त तथ्यांकअनुसार भदौ मसान्तसम्मको कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब ८२ करोड रुपैयाँ आन्तरिक ऋण र १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ। यसरी नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋणभार ४४.९२ प्रतिशत पुगेको छ। यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत योगदान छ।
भदौ महिनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमा थप दबाब परेको छ। विनिमय दरमा आएको उतारचढावका कारण मात्र ५५ अर्ब २३ करोड रुपैयाँ बराबरको अतिरिक्त दायित्व सिर्जना भएको हो। यसले सार्वजनिक ऋणभारलाई थप बढाएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ७९ अर्ब १५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ। यसमध्ये ७० अर्ब रुपैयाँ आन्तरिक ऋण र ९ अर्ब १५ करोड रुपैयाँ बाह्य ऋण हो ।
त्यस्तै, सोही अवधिमा सरकारले ६५ अर्ब ७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ। यसमध्ये ५६ अर्ब ४० करोड आन्तरिक ऋणको साँवा र ८ अर्ब ६७ करोड बाह्य ऋणको साँवा तिर्न खर्च गरिएको छ।
सार्वजनिक ऋण सेवामा यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। भदौ मसान्तसम्म मात्र ७८ अर्ब ६७ करोड रुपैयाँ ऋण सेवामा खर्च भइसकेको छ। यसमध्ये आन्तरिक ऋणमा ११ अर्ब २७ करोड रुपैयाँ ब्याज तिर्नुपरेको छ भने बाह्य ऋणमा २ अर्ब ३२ करोड रुपैयाँ ब्याज खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। निरन्तर बढ्दो ऋणभार र विदेशी विनिमयको उतारचढावले नेपालको ऋण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अर्थविद्हरूको मूल्यांकन छ।















