Logo

९ असोज, चितवन । आगामी आम निर्वाचनलाई दृष्टिगत गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्ने गृहकार्य अघि बढेको छ। वाम शक्ति विभाजनले सुदृढ राजनीतिक आधार कमजोर भएको मूल्यांकन गर्दै दुवै दलले विगतको राजनीतिक विरासत जोगाउने लक्ष्यसहित एकताको तयारी अघि बढाएका हुन् ।

दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच पछिल्ला दिनमा लगातार छलफल भइरहेको माओवादी र समाजवादी स्रोतले जनायो। पार्टी एकता सम्भावनाबारे यसअघि साउन र भदौमा गरी ६ पटक बैठक भइसकेको बताइन्छ।

गत साउन २७ गते दुवै दलका सातै प्रदेश इन्चार्जहरूसँग गरिएको संयुक्त बैठकमा नेताहरूले राजनीतिक र वैचारिक मतभेद ठूलो नभएको निष्कर्ष निकाल्दै एकताको पक्षमा सुझाव दिएका थिए। माओवादी उपमहासचिव वर्षमान पुनले विचार मिल्ने दलसँग एकता गर्ने नीति अनुसार समाजवादीसँग छलफल प्रारम्भ भएको बताए।
“बदलिँदो परिस्थितिमा वाम एकता झनै आवश्यक छ,” उनले भने, “वैचारिक, राजनीतिक र सांगठनिक विषयमा सहमति जुटे विशेष महाधिवेशनमार्फत पार्टी एकता अघि बढ्छ।”

अध्यक्ष नेपालकै जोडबलमा गत शुक्रबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले नीति, विचार र सिद्धान्त मिल्ने वाम तथा समाजवादी दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। पार्टीले अन्य दलहरूसँग आवश्यकतानुसार सहकार्य गर्ने नीति पनि स्पष्ट पारेको छ।

समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले माओवादीसँग राजनीतिक, वैचारिक र सैद्धान्तिक मतभेद नभएकाले एकता सहज हुने बताए। “सांगठनिक संरचना कस्तो बनाउने भन्नेबारे थप छलफल आवश्यक छ,” उनले भने। एकतापछि सम्भावित पार्टीको नाम र चुनावचिह्नबारे पनि आगामी बैठकमा निर्णय हुने उनको भनाइ छ।

दुवै दलका नेताबीच एकतापछि हुने नेतृत्व संरचना र शीर्ष पद व्यवस्थापनबारे छलफल भइरहेको छ। भुसालका अनुसार पहिलो पुस्ताका नेतालाई सम्मानजनक पदमा राख्ने र नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि सार्नेबारे विचार भइरहेको छ। माओवादीले पहिले देखिनै नयाँ नाममार्फत दललाई अघि बढाउने संकेत गरेको छ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत केही नेताले एकता प्रक्रियाप्रति असहमति जनाए पनि अध्यक्ष नेपाल भने सकारात्मक देखिएका छन्। पार्टीभित्र अध्यक्ष पद त्याग्नुपर्ने दबाब खेपिरहेका नेपाल पतञ्जलि समूहको जग्गा हिनामिनासम्बन्धी मुद्दामा फसिरहेका बेला माओवादीसँग सहकार्यमार्फत आफ्नो राजनीतिक आधार बलियो बनाउन इच्छुक रहेको समाजवादी स्रोतले बताएको छ।

दुवै दलले संसद् पुनःस्थापनाको माग छाड्दै चुनावमै जाने निष्कर्ष निकालेका छन्। माओवादी र समाजवादीबीच एकता भएमा प्रतिनिधिसभामा ४२ सिट बराबरको पूर्वसत्ता धारण गर्ने आधारबाट आगामी निर्वाचनमा सुदृढ उपस्थिती जनाउने उनीहरूको विश्वास छ।

एकीकृत समाजवादीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सरकार, राजनीतिक दल र नागरिक समाज सबै लाग्नुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी, समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच गठन गरिएको समाजवादी मोर्चाले महत्त्वपूर्ण राजनीतिक मुद्दामा सहकार्य गर्दै आएको छ। माओवादीको केन्द्रीय समिति बैठकले पनि चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलसँग सहकार्य गर्दै एकतामा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ। ई-कान्तिपुरबाट


सम्बन्धित समाचार
भर्खरै