Logo

File photo

९ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि प्रज्ञा भवन, कमलादीमा बस्ने भएको छ।

यसअघि बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले आजको बैठकका एजेन्डा तय गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । सो प्रतिवेदनमाथि छलफल गरी विशेष महाधिवेशन, आगामी आम निर्वाचन तथा पार्टी एकतासम्बन्धी मुद्दामा निर्णय हुने अपेक्षा गरिएको छ ।

बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनसहित फागुन २१ गते आम निर्वाचन गर्ने प्रस्ताव, वाम दलबीच पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध अभियान लगायतका विषयमा विस्तृत छलफल हुने पार्टीले जनाएको छ ।

बैठकमा सहभागी हुने प्रत्येक सदस्यले १ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीका अनुसार, हल भाडा, खाजा, पानी लगायत व्यवस्थापनका लागि यो शुल्क न्यूनतम रूपमा तोकिएको हो ।

बैठकमा हालैको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत राखिएको स्थायी समितिले जनाएको छ ।

पार्टी स्रोतका अनुसार, आजको बैठकले माओवादी केन्द्रको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिबारे स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै