Logo

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे औपचारिक सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक देशवासीलाई प्रत्यक्ष सम्बोधन गर्न लागेकी हुन्। गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो।

भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’का आधारमा अन्तरिम सरकार गठन भएको हो। आन्दोलनपछिको अस्थिरता र सत्ता–राजनीतिक द्वन्द्वलाई व्यवस्थापन गर्न दलहरूबीचको सहमतिअनुसार कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको हो।

अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आउँदो फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ। प्रधानमन्त्री कार्कीको सम्बोधनमा निर्वाचन तयारी, सरकारको प्राथमिकता र जेनजी आन्दोलनपश्चातको राजनीतिक अवस्थाबारे धारणा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

सरकारी स्रोतका अनुसार सम्बोधनमार्फत प्रधानमन्त्रीले मुलुकलाई स्थिरता, शान्ति र लोकतान्त्रिक मार्गतर्फ अघि बढाउन सरकारको संकल्प प्रस्ट्याउनेछिन्। साथै, संक्रमणकालीन अवस्थाबारे देशवासीलाई विश्वास दिलाउने र आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सरकारको प्रतिबद्धता पुनः व्यक्त गर्ने तयारी छ।


सम्बन्धित समाचार
भर्खरै