९ असोज, चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको क्षेत्र साँघुरो भएकाले एकैपटक धेरै उपकरण सञ्चालन गर्न नसकिँदा पहिरो हटाउन ढिलाइ भइरहेको जनाएको छ।
विगत एक सातादेखि पटकपटक खस्दै आएको पहिरोका कारण राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने यो मुख्य राजमार्ग अवरुद्ध छ। तीन दिन लगाएर पन्छाइएको पहिरो मंगलबार पुनः झन् ठूलो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो। दसैँजस्ता चाडपर्वको मुखमा मुख्य सडक नै बन्द हुँदा हजारौँ यात्रुले सास्ती बेहोर्नु परेको छ।
सडक डिभिजन कार्यालयका अनुसार बुधबार साँझ परेको भारी वर्षाले राति अबेरसम्म पहिरो पन्छाउने काममा थप बाधा पुर्याएको थियो। यद्यपि, आज बिहान साढे पाँच बजेदेखि नै नारायणगढ र मुग्लिन दुवैतर्फबाट ५ वटा उपकरण प्रयोग गरी पहिरो हटाउने काम निरन्तर भइरहेको छ।
“पहिरो पन्छाएर सडकमा आवागमन पूर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारिधनी एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,” बिहीबार बिहान सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा भनिएको छ।
यो सडक अवरुद्ध भएपछि चाडपर्वका लागि घर फर्किने यात्रुहरू र अत्यावश्यक सामान बोकेका सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्। यात्रुहरूलाई वैकल्पिक, तर लामा र घुमाउरो सडक प्रयोग गर्न सुझाइएको छ, जसले यात्रालाई थप कष्टकर र महँगो बनाएको छ।















