Logo

९ असोज,वीरगञ्ज ।सरकारी अस्पतालहरूमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु एक ठूलो चुनौती बनेको छ। नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले अस्पतालमा रहेको सेवा, स्रोत र संरचनासम्बन्धी चुनौतीबारे सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका छन्। उनले अस्पतालमा गुणस्तरीय सेवा दिन तीन प्रमुख आवश्यकताहरूको उल्लेख गर्दै हालको अवस्थामा गम्भीर सुधारको खाँचो रहेको बताएका छन्।

१. भौतिक पूर्वाधारको अभाव: आकस्मिक विभाग धराशायी

अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा हाल कुल २५ सैयाको संरचना छ, जुन दाताको सहयोगमा निर्माण गरिएको हो। तर, दैनिक बिरामीको चाप अत्यधिक भएपछि बेड अभावका कारण बिरामीहरूलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको डा. सिंहले उल्लेख गरेका छन्। उनका अनुसार, अस्पतालको आकस्मिक सेवा औसत समयमा पूर्ण रूपमा भरिने गर्छ र थप बिरामी राख्न मुस्किल भइरहेको छ।

२. जनशक्ति न्यून: आवश्यकता अनुसार चिकित्सक र कर्मचारी नपुग्ने

नारायणी अस्पतालको आकस्मिक विभागमा दैनिक औसत १२०–१५० जना बिरामी आउने गर्छन्। तर, एक सिफ्टमा मात्र १–२ जना चिकित्सक र २–३ जना स्वास्थ्यकर्मी ड्युटीमा रहने गरेका छन्, जुन अत्यन्त न्यून हो। उनले भने, “सेवा प्रभावकारी बनाउन कम्तीमा ३ जना चिकित्सक र ६ जना पैरामेडिक्स प्रतिशिफ्ट हुनु आवश्यक छ।”

तर, ३० वर्ष पुरानो O and M (Organization and Management) survey को कारण नयाँ जनशक्ति थप्न समस्या भइरहेको डा. सिंहले बताएका छन्। उनले भने, “अस्पताल प्रशासनलाई समस्या थाहा छ, तर बेला बेलामा निरीह भएर प्रस्तुत हुन्छ।”

३. सेवा सुविधा न्यून: बाहिर काम गर्न बाध्य चिकित्सकहरू

सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब न्यून भएकाले उनीहरूलाई बाहिर काम गर्न बाध्य बनाएको डा. सिंहले बताएका छन्। उनका अनुसार, तलबबाहेक अधिकांश स्वास्थ्यकर्मीहरूले कुनै अतिरिक्त सुविधा नपाउने र धेरैलाई आवासको पनि अभाव छ।

हिजो सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे प्रतिक्रिया दिँदै डा. सिंहले उक्त दृश्य माइनर OT (साना शल्यक्रिया कक्ष) तर्फको भएको उल्लेख गरेका छन्। उनले भने, “कर्मचारी र चिकित्सकको न्यून संख्याका कारण सबै बिरामीलाई समयमा सेवा दिन नसकिएको हो।”

उनका अनुसार, समस्या समाधानका लागि आन्तरिक प्रशासनसँग पटक–पटक माग गरिएको भए पनि “कर्मचारी दिन नसकिने” भन्दै प्रशासन पछि हट्ने गरेको गुनासो गरेका छन्।

डा. सिंहले अन्ततः भनेका छन्, “चुनौती धेरै छन्, समाधानको बाटो जटिल छ। तर, नयाँ सरकारबाट केही आशा गरौं।” नारायणी अस्पतालमा दिनप्रतिदिन बढ्दो बिरामीको चाप, सीमित पूर्वाधार, जनशक्ति र न्यून सेवा सुविधाका कारण सेवा गुणस्तरमा चुनौती देखिएको छ। अस्पताल प्रशासन र सम्बन्धित निकायले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि गम्भीर पहल गर्नु पर्ने देखिन्छ।


सम्बन्धित समाचार