९ असोज, काठमाडौं । दशैँको बिदाले गर्दा महत्वपूर्ण सरकारी कार्यालयहरू बन्द हुने त्रासबाट अब यात्रुहरूले मुक्ति पाउने भएका छन् ।
अध्यागमन विभागले यस पर्वलाई मध्यनजर गर्दै विजयादशमीको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने निर्णय गरेको छ । चाडपर्वमा समेत सेवाग्राहीको सुविधालाई ध्यान दिँदै विभागले यस वर्षको दशैँमा नियमित सेवालाई निरन्तरता दिने भएको हो। विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीका अनुसार असोज १६ गते विजयादशमीका दिनमात्र यी दुई शाखा बन्द रहनेछन् ।
दशैँका अन्य सबै दिनहरूमा भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालनमा रहनेछ । यस निर्णयले अन्तर्राष्ट्रिय उडानका यात्रुहरू र एजेन्सीका काम भएकाहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।















