पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको राजनीतिक परिवर्तनलाई पूर्ण सफलता मान्न नसकिने र मुलुकमा दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेको जोड दिएका छन् ।
पार्टी अध्यक्ष पद त्यागेको भोलिपल्ट विहिबार पत्रकार सम्मेलनमार्फत उनले ‘जेनजी’ (युवा पुस्ता) को आन्दोलनले सरकार ढाले पनि पुरानो सत्ता यथावत् रहेको टिप्पणी गरेका छन् । जेनजीको आन्दोलनले सरकार ढल्यो, तर पुरानो सत्ता (व्यवस्था र संरचना) परिवर्तन हुन नसक्दा राजनीतिक स्थायित्व र सुशासन सुनिश्चित हुन सकेन ।
उनले संविधान निर्माणकै समयदेखि शासकीय त्रुटि रहेको स्मरण गराउँदै, यसले गर्दा कुनै पनि पार्टीलाई स्पष्ट बहुमत ल्याउन नदिने र सरकारलाई ५ वर्ष टिक्न नदिने अस्थिरता जन्माएको बताए । वर्तमान प्रणालीले भ्रष्टाचार र अस्थायित्व जन्माएकोले यी संरचना तोड्न व्यवस्थागत सुधार आवश्यक छ। भ्रष्टाचारीहरू फेरि नजन्मिउन् भनेर निर्वाचनअघि नै व्यवस्थामा महत्वपूर्ण सुधार गर्नुपर्ने उनको भनाइ छ।
देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानु नै एक मात्र विकल्प हो । यदि यसो नगरिए, भ्रष्टहरूले चलखेल गरी फेरि सत्तामा आउने र युवाहरूको बलिदान खेर जाने खतरा रहेको उनले चेतावनी दिए। भट्टराईले जेनजीलाई आवेशमा नआई सरकारसँग व्यवस्थित वार्ता गरी व्यवहारिक सम्झौता खोज्न सुझाव दिएका छन् ।















