Logo

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पदलोलुप नभएको जिकिर गर्दै वर्तमान जिम्मेवारीबाट अहिल्यै नपन्छिने स्पष्ट पारेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ‘राष्ट्र, पार्टी र क्रान्ति’ का लागि अन्तिमसम्म लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डको यो भनाइलाई पार्टी महासचिव जनार्दन शर्मा लगायतका नेताहरूले राजीनामाको दबाब बढाएको पृष्ठभूमिमा आएको जवाफको रूपमा हेरिएको छ।

उनले भनेका छन् ‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन। त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन। राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’ प्रचण्डले पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरण को प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेकोमा पनि जोड दिए ।

अध्यक्षमाथि बढ्दो दबाबलाई मत्थर पार्न असोज ५ गतेको पदाधिकारी बैठक मा प्रचण्डले केन्द्रीय समिति भङ्ग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। आजको केन्द्रीय समिति बैठकले उक्त प्रस्तावलाई अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ।


सम्बन्धित समाचार
भर्खरै