आफ्नै नेतृत्वमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको केन्द्रमा युवा पुस्तालाई ल्याउने रणनीतिक कदम चालेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा आज प्रस्तुत गरिएको उनको प्रस्तावमा आसन्न विशेष महाधिवेशन र आगामी निर्वाचन दुवैमा युवा पुस्तालाई प्रमुख प्राथमिकता दिने उल्लेख छ ।
सत्ता र संगठनमा युवाको प्रतिनिधित्व
अध्यक्ष प्रचण्डले माओवादी पार्टी अहिले रूपान्तरणको मोड मा रहेको स्वीकार गर्दै हालैका युवा आन्दोलनबाट उठेका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उनको भनाइ छ, जेनजीले उठाएका एजेन्डाअनुसार नै पार्टीले राजनीति र शासनसत्ता मा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नेछ।
शक्ति केन्द्रीकरणको तयारी
युवा पुस्तालाई आकर्षित गर्ने यो घोषणासँगै प्रचण्डले पार्टीको संरचनामा ठूलो फेरबदल को प्रस्ताव पनि अघि सारेका छन् । पार्टीले आगामी मंसिर मा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनलाई सहज बनाउन प्रचण्डले पार्टी पदाधिकारी र केन्द्रीय समिति दुवै भङ्ग गरी आफ्नो नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका छन् ।
पछिल्लो समय नेतृत्व हस्तान्तरणको दबाब झेलिरहेका प्रचण्डको यो कदमलाई एकातर्फ युवाशक्तिलाई जोडेर जनमत आफ्नो पक्षमा पार्ने र अर्कोतर्फ संगठन भङ्ग गरेर आन्तरिक चुनौतीहरूलाई निस्तेज पारी शक्ति केन्द्रीकरण गर्ने रणनीतिक प्रयासको रूपमा हेरिएको छ ।















