९ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६, महादेवस्थान चेकपोस्ट क्षेत्रमा ६८ वर्षीया पवित्रा केसीको हत्या भएको छ। प्रहरीका अनुसार जग्गासम्बन्धी विवादकै कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही स्थानका ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटका अनुसार मृतक केसी र थापा परिवारबीच लामो समयदेखि जग्गासम्बन्धी विवाद चलिरहेको थियो।
घटनापछि प्रहरीले थप अनुसन्धानका लागि अभियुक्त सरोज थापाकी आमालाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अहिले प्रहरीको हिरासतमा राखेर सोधपुछ जारी रहेको बताइएको छ।
प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाण संकलन गरिरहेको छ भने हत्याको विस्तृत कारण र अन्य संलग्न व्यक्तिको खोजी कार्य पनि अघि बढाइएको जनाएको छ।
पवित्रा केसीको शव पोष्टमार्टमका लागि पठाइएको छ र विस्तृत रिपोर्टपछि थप तथ्य सार्वजनिक गरिने जनाइएको छ।















