९ असोज,वीरगञ्ज । मधेस प्रदेशसभामा संघीयतालाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न माग गर्दै ९ दलले संयुक्त रूपमा एक संकल्प प्रस्ताव दर्ता गराएका छन्।
भर्खरैको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ७२ जना नेपालीप्रति प्रदेशसभाले दुःख व्यक्त गरेको छ।
सो संकल्प प्रस्तावमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनमत, लोसपा, एकीकृत समाजवादी, जसपा लगायत ९ वटा दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनपछि संघीय संरचनाविरुद्ध भइरहेका नकारात्मक प्रचारको निन्दा गरेका छन्।
प्रस्तावमा नेपालको संविधानको प्रस्तावनाअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्नेमा जोड दिँदै सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य संविधानको प्रमुख उद्देश्य रहेको उल्लेख गरिएको छ।
प्रस्तावमा, संघीयता केवल संरचनागत परिवर्तन मात्र नभई सेवा प्रवाह, समावेशिता र स्थानीय सशक्तिकरणको माध्यम पनि भएकाले यसलाई कमजोर पार्ने प्रयासहरूको विरोध गर्ने संकल्प गरिएको छ। शहीदहरूको बलिदानलाई बेवास्ता गरी संघीय संरचनामाथि संकट देखाउन खोजिएकोमा आपत्ति जनाइएको छ।
प्रदेशसभाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहयोगको वातावरण बनाउन पनि सबै सरोकारवालालाई आह्वान गरेको छ।संकल्प प्रस्तावले जेनजी आन्दोलनले देखाएको चेतना र सक्रियतालाई सकारात्मक रूपमा लिएको छ। युवाहरूको आवाजलाई नीति निर्माण, बजेट निर्माण र विकास योजनामा समावेश गर्न प्रदेश सरकारलाई निर्देशन समेत दिइएको छ।















