Logo

१० असोज, वीरगञ्ज । मधेस प्रदेश प्रहरीले आसन्न बडादसैँ, तिहार र छठ जस्ता प्रमुख पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरले आठवटै जिल्लामा नागरिकलाई भयरहित वातावरणमा पर्व मनाउन दिने उद्देश्यले व्यापक सुरक्षा रणनीति तयार पारेको हो।

प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापाका अनुसार, असोज ६ गतेदेखि छठ पर्वसम्म ६ हजार ५३२ सुरक्षाकर्मीलाई परिचालन गरिनेछ। उनका भनाइमा, ‘चाडपर्वमा आपराधिक गतिविधि हुन दिइने छैन। आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन कुनै कसर बाँकी राखिँदैन।’

मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लामा प्रत्येक जिल्लामा सरदर ८ सय सुरक्षाकर्मी खटाइने छन्। सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ४८ वटा क्यूआरटी टोली, १९ स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिकसहितको चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती तथा २६ स्थानमा राजमार्ग स्कर्टिङ संचालन गरिनेछ।

त्यसैगरी, धार्मिक तथा पर्यटकीय स्थल, संवेदनशील प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, बजार र भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छुट्टै टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।

भर्खरै सम्पन्न जेनजी आन्दोलनको प्रभाव अझै कायम रहेको र त्यसले सर्वसाधारणमा भयको वातावरण सिर्जना गरेको प्रहरीको आकलन छ। त्यसैगरी, खुला सीमाको कारण आन्दोलनमा प्रयोग भएका हतियार दुरुपयोग हुन सक्ने जोखिम उच्च देखिएको छ। यी सबै पक्षलाई ध्यानमा राख्दै अपराध नियन्त्रण तथा अप्रिय घटना रोक्न सुरक्षा संयन्त्रलाई योजनाबद्ध रूपमा परिचालन गरिएको प्रवक्ता थापाले जानकारी दिए।

प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले पर्व अवधिमा नागरिकलाई ढुक्कले पर्व मनाउन सक्ने वातावरण निर्माणमा प्रहरी प्रतिबद्ध रहेको बताए। उनका अनुसार, चोरी, लुटपाट र पाकेटमारी नियन्त्रणका लागि विशेष टोली खटाइएको छ भने बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि र ठगी रोक्न १४ स्थानमा अनुगमन टोली खटाइएको छ।

सार्वजनिक यातायातमा तोकिएको भन्दा बढी भाडा लिन रोक लगाइएको छ। पटका तथा आतिशबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग, अवैध मदिरा उत्पादन–वितरण, जुवातास र आपराधिक गतिविधि रोक्न जिल्ला प्रहरी कमाण्डरलाई कडा निर्देशन दिइएको उनले बताए।

प्रहरीले पर्व अवधिमा सीमाक्षेत्रका संवेदनशील स्थानहरूमा विशेष प्रहरी टोली परिचालन गरी संभावित जोखिम नियन्त्रण गर्ने योजना बनाएको छ। डीआईजी चतुर्वेदीका अनुसार, ‘बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसलदेखि धार्मिक स्थल र सडक सुरक्षा सबै क्षेत्रमा प्रहरीको उपस्थिति बलियो हुनेछ। चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले पूर्ण जिम्मेवारीपूर्वक काम गर्नेछ।’


सम्बन्धित समाचार