Logo

१० असोज, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र कागजात जलाइएको घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेका छन् ।

लाजिम्पाटस्थित ब्युरोको निरीक्षणका क्रममा गृहमन्त्रीले अब ठूला अपराध र भ्रष्टाचारका फाइलहरूमा ‘ब्रेक थ्रु’ ल्याउन निर्देशन दिएका छन् ।

नयाँ नेतृत्वमाथि सुशासनको भार

हालै नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानको नेतृत्व गरिसकेका एआईजी डा. मनोज केसी सीआईबी प्रमुखको जिम्मेवारीमा आएलगत्तै गृहमन्त्री अर्यालको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सीआईबीका अधिकृतहरूलाई निर्देशन दिँदै मन्त्री अर्यालले अब ब्रेक थ्रु हुने खुलाए । उनले राजनीतिक पहुँच र कनेक्सनका कारण वर्षौंदेखि अवरुद्ध भएका वित्तीय अपराध र भ्रष्टाचारका अनुसन्धानहरूलाई अब निर्धक्क भएर अगाडि बढाउन आग्रह गरे । उनले राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सुशासन अन्तरिम सरकारको पहिलो सर्त

गृहमन्त्री अर्यालले अन्तरिम सरकारको पहिलो सर्त नै सुशासन भएको भन्दै अनुसन्धान प्रक्रियामा आउन सक्ने सबै अवरोधहरू तत्काल हटाउने प्रतिबद्धता जनाए । उनले भ्रष्टाचारसम्बन्धी केही सूचना चुहिएकोतर्फ समेत सङ्केत गर्दै सबै निकायलाई सुशासन प्रवर्द्धनमा गम्भीर हुन चेतावनी दिएका छन्। गृहमन्त्रीको यो सक्रियता र केसीको नेतृत्वले अब ठूला माछा माथिको कारबाहीले तीव्रता पाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार