१० असोज, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेनजी आन्दोलनप्रति दृढ समर्थन जनाउँदै आन्तरिक नेतृत्व परिवर्तनका विषयमा कडा अडान राखेका छन् ।
शुक्रबार आफ्नो धारणा राख्दै उनले जेनजी आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूको स्वतःस्फूर्त विद्रोहको रूपमा व्याख्या गरेका छन्। यद्यपि, उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्न खोजेकोतर्फ भने सचेत रहनुपर्ने बताएका छन् । उपमहासचिव गजुरेलले माओवादी केन्द्रले यो आन्दोलनलाई सुरुदेखि नै समर्थन गर्नुपर्नेमा जोड दिए । ‘हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो। पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं, ओलीको राजीनामा माग्यौं। त्यसकारण हामी फरक छौं, आन्दोलनकारी शक्ति हौं,’ उनले भने।
नेतृत्व परिवर्तनको सीमा
पार्टीभित्र नेतृत्व परिवर्तनबारे उठिरहेका आवाजहरूलाई सम्बोधन गर्दै गजुरेलले अध्यक्ष प्रचण्डको बचाउ गरेका छन् । उनले सडकको आवाजले पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका छन् । ‘सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन। त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ,’ गजुरेलले दृढतापूर्वक भने । उनले विशेष महाधिवेशनलाई नै विचार र कार्यदिशा अद्यावधिक गर्ने उचित बाटो बताउँदै नेतृत्व छनोट उमेरका आधारमा नभई विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार, पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी ढंगले चलेको अवस्थालाई सच्याउनै पर्छ। उनले जेनजी आन्दोलनको सन्देशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्नेमा पनि जोड दिएका छन् ।















