१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण प्रत्यक्ष मारमा परेका व्यवसायी ऋणीहरूलाई लक्षित गरी महत्त्वपूर्ण राहतको घोषणा गरेको छ ।
केन्द्रीय बैंकले आफ्नो एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै आन्दोलनबाट व्यवसायमा असर पुगेका ऋणीहरूको कर्जा पुनरतालिकीकरण र पुनर्संरचना गर्ने बाटो खोलिदिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीहरूले सम्बन्धित वित्तीय संस्थामा अनुरोध गर्न सक्नेछन् । संस्थाले प्रभावको यकिन गरेर त्यस्ता कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन् ।
यो विशेष सहुलियतको उपयोग गर्नका लागि २०८२ पुस मसान्तभित्र नै पुनरतालिकीकरण वा पुनर्संरचनाको काम गरिसक्नु पर्ने समयसीमा तोकिएको छ। पुनर्संरचना गरिएका कर्जालाई २०८२ असार मसान्तमा जुन वर्गमा थियो, सोही वर्गमा वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ।
फरवार्ड लिंकेज र सवारी कर्जामा विशेष सुविधा
केन्द्रीय बैंकले आन्दोलनबाट प्रत्यक्ष प्रभावित संस्थासँग व्यावसायिक सम्बन्ध फरवार्ड लिंकेज भएका ऋणीहरूलाई समेत राहत दिने व्यवस्था गरेको छ ।
त्यस्ता ऋणीको हकमा सम्बन्धित वित्तीय संस्थाले प्रभावको यकिन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम मात्र असुल गरेर पनि कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन् । सवारी कर्जामा ऋण मूल्य अनुपातमा वृद्धिस् व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनहरू आन्दोलनका क्रममा क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्था आएमा, सामान्य अवस्थामा लागू हुने ६० प्रतिशतको ऋण मूल्य अनुपात बढाएर ८० प्रतिशतसम्म कायम गर्न सकिने सहुलियत केन्द्रीय बैंकले दिएको छ ।
यसका साथै, रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा अवरोध सिर्जना हुँदा प्रभावित भएका कर्जालाई पनि ऋणीको अनुरोधमा पुनरतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको यो कदमले जेनजी आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूलाई आफ्नो व्यवसाय पूर्ववत् अवस्थामा फर्काउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।















