Logo

१० असोज, काठमाडौँ । मन्त्रिपरिषद्ले बिहीबार गरेका १९ वटा महत्त्वपूर्ण निर्णयहरू आज शुक्रबार सार्वजनिक गरिएको छ।

सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका तीन संवेदनशील निकायहरूको कार्यक्षेत्रमा परिवर्तन गर्दै ठूलो ‘पावर शिफ्ट’ गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गर्दै केन्द्रीय निकायहरूको जिम्मेवारीमा फेरबदल गरिएको जानकारी दिए।

मुख्य निर्णयहरूः निकायहरूको जिम्मेवारी परिवर्तन

राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतबाट हटाएर अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालयको मातहतबाट हटाएर गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ।

यी निकायहरूको जिम्मेवारी परिवर्तनले राजस्व, वित्तीय अपराध र गुप्तचरसम्बन्धी कामकारबाहीमा सम्बन्धित मन्त्रालयहरूको प्रत्यक्ष भूमिका बढेको छ।

अन्य महत्त्वपूर्ण निर्णयहरू

अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोकिएको छ। सहसचिवहरू डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका यी १९ निर्णयहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको छ।

 


सम्बन्धित समाचार
भर्खरै