Logo

१० असोज,वीरगञ्ज ।  चाडपर्व नजिकिँदै गर्दा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत संकट चुलिएको छ। दुई साता अघि परवानीपुरस्थित नेपाल विद्युत प्राधिकरणको भलुही सबस्टेशनमा भएको आगलागीपछि करिडोरमा रहेका उद्योगहरू नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति पाउनबाट वञ्चित भएका छन्।

चाडपर्वमा खाद्यान्न, उपभोग्य सामग्री तथा निर्माण सामग्रीको माग अत्यधिक हुने भएकाले उद्योगहरूमा उत्पादन बढाउने दबाब हुन्छ। तर, अहिले उद्योगहरूको प्रमुख कच्चा पदार्थको रूपमा रहेको विद्युत आपूर्तिमा समस्या आएपछि उद्योगहरू सञ्चालनमै कठिनाइ भएको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार, “एकातर्फ विद्युत आपूर्ति कम छ, अर्कातर्फ उपलब्ध विद्युत पनि दैनिक १०–१२ पटकसम्म ट्रिपिङ हुने समस्या छ। ट्रिपिङको बीचमा आउने विद्युत पनि गुणस्तरीय छैन।” उनले भने, “करिडोरभित्र झण्डै १ हजार उद्योग सञ्चालनमा छन्। अहिलेको अवस्था यस्तै रह्यो भने चाडपर्व जस्तो प्रमुख सिजनमा उद्योगीहरूले ठूलो घाटा बेहोरिरहेका छन्।”

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार, डाबर नेपाल, त्रिवेणी सिनप्याक, शिवशक्ति केमोप्लाष्टजस्ता निर्यातमा आधारित ठूला उद्योगहरू डिजेल प्रयोग गरेर उत्पादन गरिरहेका छन्। “११ केभी लाइनमा सञ्चालित उद्योगहरू सबैभन्दा बढी मारमा छन्,” उनले बताए।

राजपालले चाडपर्वमा खाद्यान्न, फलामजन्य वस्तु, पेन्ट आदि उत्पादन गर्ने उद्योगहरूलाई विद्युतको बढी खपत पर्ने भए पनि अहिलेको आपूर्तिले माग धान्न नसक्ने स्पष्ट पारे।

उद्योगीहरूले लामो समयसम्म विद्युत आपूर्ति अवरुद्ध भएको अवस्थामा प्राधिकरणले डिमान्ड शुल्क छुट गर्नुपर्ने माग समेत गरेका छन्।यो करिडोरमा सामान्यतया ३ सयदेखि ५ सय मेगावाट विद्युत आवश्यक पर्ने भए पनि हाल त्यसको आधा मात्र आपूर्ति भइरहेको उद्योगीहरूको भनाइ छ।

नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेका अनुसार, “भलुही सबस्टेशनको ब्रेकरमा आगलागी भएर समस्या आएको हो। अहिले ११ केभी लाइनमा समस्या देखिएको छ।”

उनले बताएअनुसार, चारवटा फिडर सञ्चालनमा ल्याएर उद्योग क्षेत्रमा केही हदसम्म विद्युत आपूर्ति सुधार गर्न प्रयास भइरहेको छ। घरायसी क्षेत्रमा भने वीरगन्ज–प्रसौनी प्रशारण लाइनबाट विद्युत आपूर्ति गरिएको छ।

हाल ६६ केभी र १३२ केभी प्रशारण लाइनमा भने कुनै समस्या नरहेको दुबेले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै