Logo

११ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ। यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ।

नेपालले टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। त्यस्तै, आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको पहिलो द्विपक्षीय सिरिज पनि यही हो, जसलाई ऐतिहासिक अवसरको रूपमा लिइएको छ।

शुक्रबार खेलपूर्व आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समयमा नेपालको क्रिकेट प्रदर्शन निरन्तर सुधार भइरहेको उल्लेख गर्दै सिरिजमा राम्रो खेल पस्केर जित निकाल्ने आत्मविश्वास व्यक्त गरे। “आफ्नो सर्वश्रेष्ठ क्रिकेट खेल्न सके नेपालले वेस्ट इन्डिजलाई पराजित गर्न सक्छ। टिममा सबै सकारात्मक छन् र मनोबल उच्च छ। हामी सिरिज जित्ने क्षमतामा छौं भन्ने विश्वास छ,” उनले भने।

वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक सिरिजमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबै खेलका लागि तयार रहेको जनाउँदै भने, “पेपरमा को बलियो छ भन्ने भन्दा पनि मैदानमा कसले राम्रो खेल्यो भन्ने कुरा निर्णायक हुन्छ।”

विश्लेषकहरूका अनुसार, पछिल्लो समय कमजोर लयमा रहेको वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक जित निकाल्ने अवसर पाएको छ। वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये केवल दुई खेलमा मात्र जित निकालेको छ। नेपालले भने सोही अवधिमा आठ खेल खेल्दा चारमा जित हासिल गरेको छ, तीन खेलमा पराजित (एक सुपर ओभरसहित) भएको छ भने एक खेल नतिजाविहीन भएको छ।

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुने तालिका छ।

टोलीहरू

नेपाल : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

वेस्ट इन्डिज : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।


सम्बन्धित समाचार