Logo

११ असोज, काठमाडौं। विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत प्रयोग गर्दै आएका सवारी साधनहरू संसद् सचिवालयमा फिर्ता गरेका छन्। संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक तथा सचेतकले गाडी फिर्ता गरेका हुन्।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति रहेकामा संयुक्त दुई समितिका सभापति समेत प्रतिनिधिसभा सदस्य नै थिए। ती सबैले आफूसँग रहेको सुविधा वापतको गाडी सचिवालयमा बुझाइसकेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतकहरूले गाडी फिर्ता गरिसकेका छन् भने नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने गत भदौ २४ गते सिंहदरवारमा भएको आगलागीका क्रममा जलेको हो। सो आगलागीमा कांग्रेस र एमालेको संसदीय दल कार्यालयसमेत जलेको थियो, जहाँ कांग्रेसका ती गाडीहरू सचिवालय परिसरमै पार्क गरिएको अवस्थामा थिए।

सरकारले हाल मितव्ययिता नीति अवलम्बन गर्दै पूर्वराजनीतिक पदाधिकारीहरूलाई उपलब्ध गराइएको गाडी फिर्ता गर्ने अभियान सुरु गरेको छ। सोहीअनुसार संसद् सचिवालयले पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्षलगायत अन्य पदाधिकारीहरूका गाडी फिर्ता गर्न पहल थालेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै