Logo

११ असोज, काभ्रेपलाञ्चोक। दशैं नजिकिँदै गर्दा नेपाली बजारमा उपभोक्ता सामग्रीको माग उच्च हुँदै गएको छ। तर, चिनियाँ पक्षबाट तातोपानी नाकाबाट अपेक्षित मात्रामा कन्टेनर नछाडिएपछि नेपाली व्यवसायीहरू मारमा परेका छन्। खासगरी दशैं लक्षित सामान ल्याउन व्यवसायीहरूलाई समस्या भएको छ।

पहिरोका कारण झण्डै दुई महिनासम्म अवरुद्ध भएको तातोपानी नाका बल्ल खुले पनि चिनियाँ पक्षले सीमित मात्रामा कन्टेनर छोडेपछि दशैंका लागि तयारी गरेका व्यवसायीहरूको करोडौं रुपैयाँको लगानी संकटमा परेको छ।

गोल्डस्टार जुत्ता उद्योगमा उत्पादन ठप्प
गोल्डस्टार जुत्ता कम्पनीका सप्लाई हेड संजीव कर्णका अनुसार दशैंका लागि ल्याउन लागेको १७ वटा कन्टेनरमध्ये हालसम्म जम्मा दुईवटा मात्र नेपाल भित्रिएका छन्। बाँकी कन्टेनर चीनतर्फको खासा क्षेत्रमै रोकिएका छन्।
“५० करोड बराबरको कच्चा सामान चीनमै अड्किँदा ३० दिनदेखि कारखाना नै चलाउन सकेका छैनौं,” कर्णले गुनासो गरे। “दशैं त बिग्रियो, अब तिहारसम्म केही बनाउन सकियो भने सानो राहत मिल्ला कि भन्ने मात्रै आश छ। सरकारको कुनै पहल देखिएको छैन।”

वैकल्पिक व्यवस्था माग
कर्णले तातोपानी भन्सारको समन्वय कमजोर भएको उल्लेख गर्दै, आवश्यक परे चोभार सुख्खा बन्दरगाहमार्फत काम गर्ने विकल्प पनि सुझाएका छन्।
“सयौं कन्टेनर खासामा रोकिएका छन्, तर भन्सार तातोपानीको मात्र कुरा भइरहेको छ,” उनले भने, “त्यहाँ रेडिमेड लत्ताकपडा, कपडा, जुत्ता लगायतका सामान रोकिँदा धेरै व्यापारी समस्यामा परेका छन्।”

दैनिक ४० को सट्टा ७–८ कन्टेनर मात्र भित्रिँदै
ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाका अनुसार सामान्य दिनहरूमा दैनिक ४० वटा कन्टेनर नेपाल प्रवेश गर्ने गर्दथ्यो। तर हाल त्यो संख्या घटेर ७–८ मा झरेको छ।
“५० दिन पहिरोका कारण नाका अवरुद्ध रहँदा ठूलो मात्रामा कन्टेनर जाम भएका थिए। तर नाका खुलेपछि ती कन्टेनरहरू सहज रूपमा आउँछन् भन्ने अपेक्षा व्यवसायीको थियो। तर अहिले अझै स्पष्ट कारणबिना कन्टेनर रोकिएका छन्,” थापाले बताए।

चिनियाँ पक्षले ट्राफिक र निर्माणलाई दोष
तातोपानी भन्सारका सूचना अधिकारी रमेश शाहका अनुसार चिनियाँ पक्षले खासा क्षेत्रमा निर्माण र ट्राफिक समस्या देखाएर कन्टेनरहरू नछाडेको बताएका छन्।
“हामीले दशैंअघि सामान नआए व्यवसायीहरू डुब्ने बताए पनि चिनियाँ पक्षले ट्राफिकको समस्या देखाउँदै कन्टेनर रोकेको छ,” शाहले जानकारी दिए। “सायद शनिबारदेखि कन्टेनरहरु छाड्ने आशा गरिएको छ।”

सरकारी पहल शून्य
व्यवसायीहरूले दशैंका लागि आवश्यक कच्चा पदार्थ तथा उपभोग्य सामग्री समयमा नपुगे अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै तत्काल कूटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन्।
वास्तविक कारणको यकिन जानकारी नभए पनि सरकारी संयन्त्रको सुस्त गतिका कारण दशैंको व्यापार प्रभावित हुने देखिएको छ।


सम्बन्धित समाचार