Logo

Oplus_16908288

११ असोज,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, बारा शाखाले महिला पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलैया उपमहानगरपालिका–१ निवासी पत्रकार अञ्जली कुमारी गुप्तामाथि देवताल गाउँपालिका निवासी मोहनलाल पण्डितले सामाजिक सञ्जालमार्फत आपत्तिजनक र भ्रामक सामग्री सार्वजनिक गरेको भन्दै उक्त कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत जीवनमा भ्रामक टिप्पणी गर्ने वा लाञ्छना लगाउने कार्य कुनै हालतमा स्वीकार्य छैन। महिला पत्रकारहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।”

महासंघका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकार गुप्तामाथि सामाजिक सञ्जालमा आधारहीन सामग्रीमार्फत गरिएका आरोपहरू निन्दनीय रहेको उल्लेख गरिएको छ।

महासंघले यस घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दै पत्रकार गुप्ताको सुरक्षा र मानसिक सान्त्वनाको सुनिश्चिततामा सहयोग गर्न सबै सरोकारवाला पक्षसँग अपील गरेको छ।

महासंघले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र महिला पत्रकारहरूप्रति सम्मानजनक व्यवहार आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर पत्रकारिता क्षेत्रको मर्यादा जोगाउनुपर्ने अडान व्यक्त गरेको छ।


सम्बन्धित समाचार