Logo

११ असोज,वीरगञ्ज । यस वर्षको दशैं पर्वमा वीरगञ्ज भन्सार कार्यालय बिदामा पनि निरन्तर सेवा सञ्चालन गर्ने भएको छ। सामान्यतया दशैंको समयमा बन्द हुने भन्सार कार्यालय यसपालि भने टीकाको दिनसमेत खुला रहने भएको हो।

भन्सार प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार, अर्थ मन्त्रालयको विशेष निर्देशनमा यो निर्णय लिइएको हो। पछिल्लो समय देशभर फैलिएको “जेनजी आन्दोलन” पछि अर्थतन्त्रमा देखिएको असरलाई न्यूनीकरण गर्न र आयात–निर्यात प्रक्रिया सहज बनाउन यो कदम चालिएको बुझिएको छ।

दशैं जस्ता चाडपर्वमा भन्सार बन्द हुँदा विदेशबाट आएका खाद्य सामग्री, उपभोग्य वस्तु तथा दैनिक आवश्यक सामग्रीहरू भन्सारमै थन्किने र समयमै निकासी नहुँदा नोक्सानी हुने गरेको विगतको अनुभवलाई ध्यानमा राख्दै, यसपालि भन्सार सेवा खुला राखिने निर्णय गरिएको हो।

भन्सार प्रमुख ज्ञवालीले भने, “सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न तथा चाडपर्वको समयमा बजारमा वस्तुको आपूर्ति कायम राख्न यो निर्णय गरिएको हो। यसले आयातकर्ता तथा व्यवसायीहरूलाई राहत दिनेछ।”

अर्थ मन्त्रालयका अनुसार, भन्सार सेवा खुला राखिएसँगै दशैंको समयसमेत मालवस्तुको निकासी तथा पैठारी सहज हुने, बजारमा वस्तु अभाव नहुने, तथा खाद्यान्न र आवश्यक वस्तुहरू कुहिने जोखिम हट्नेछ।

यस निर्णयबाट विशेष गरी खाद्य व्यवसाय, उपभोग्य वस्तु आयातकर्ता र खुद्रा व्यापारीहरूलाई लाभ हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै