११ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ध्वस्त बनेको वीरगञ्ज महानगरपालिका कार्यालय पुनःसञ्चालनमा सहयोग पुर्याउँदै सूर्या नेपाल प्रालिले महत्वपूर्ण विद्युतीय उपकरण सहयोग गरेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलन अन्तर्गतको प्रदर्शनमा अराजक समूहले गरेको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। उक्त घटनाले कार्यालयको दैनिक प्रशासनिक कामकाज ठप्प भएको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्या नेपाल प्रालिले दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर वीरगञ्ज महानगरपालिकालाई प्रदान गरेको हो। शनिबार महानगरपालिकाको कार्यालयमै आयोजित कार्यक्रममा सूर्या नेपालका प्रतिनिधि प्रभाकर विक्रम शाहले मेयर राजेशमान सिंहलाई ती उपकरणहरू हस्तान्तरण गरे।
उक्त अवसरमा मेयर सिंहले सहयोगलाई महत्वपूर्ण बताउँदै धन्यवाद व्यक्त गरे। उनले भने, “महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्याएको योगदानप्रति आभारी छु। भविष्यमा पनि साझेदारीका कार्यक्रमहरू निरन्तर रहून् भन्ने अपेक्षा राखेको छु।”
सूर्या नेपाल प्रालिका प्रभाकर विक्रम शाहले नगरको पुनःनिर्माणमा साथ दिन आफूहरू सधैँ तत्पर रहने बताएका छन्। “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो,” उनले भने, “सबै मिलेर सहकार्य गरे महानगर छिट्टै उठ्नेछ।”
कार्यक्रममा सूर्या नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले वीरगञ्ज महानगरलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, सूर्या नेपालका वरिष्ठ प्रबन्धक यज्ञ आलेलगायतको उपस्थिति रहेको थियो।















