११ असोज, काठमाडौं । जेनजी आन्दोलनलाई निष्कर्षमा नपुर्याई टुंग्याइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेताहरूले आइतबार काठमाडौंको माइतीघरमा मौन विरोध प्रदर्शन गरेका छन्।
राप्रपाका केन्द्रीय सदस्य खुश्बु ओलीका अनुसार अहिलेको परिवर्तित राजनीतिक परिस्थिति र युवामाथि भएको धोका विरुद्ध पार्टीका युवा केन्द्रीय सदस्यहरूले बिहान ११ बजे सांकेतिक मौन प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले ‘आजको आवश्यकता : नवीन समझदारी’ भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना, संविधानको पुनर्लेखन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशहरूको खारेजी तथा भ्रष्टाचारविरुद्ध कठोर कारबाहीको मागसमेत गरेका थिए।
उनीहरूले प्लेकार्डमार्फत “भ्रष्टाचारीलाई कारवाही खोई?”, “जनताको आवाजमाथि सुनुवाइ कहिले?”, “संविधान लेख्न जनमत कहाँ छ?” लगायतका प्रश्नहरू उठाउँदै मौन प्रदर्शन गरेका थिए।
प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यस्ता जनचेतनामूलक गतिविधि आगामी दिनमा थप तीव्र बनाइने युवा नेताहरूले बताएका छन्।















