Logo

१२ असोज,काठमाडौं । सुनचाँदीको मूल्य नेपाली बजारमा इतिहासमै पहिलो पटक उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुनको मूल्य तोलामा २ लाख २३ हजार २ सय रुपैयाँ पुगेको छ।
शुक्रवारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो। शुक्रवार सुनको मूल्य तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ थियो।

यसअघि, गत बुधवार सुनको मूल्य तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्दा हालसम्मकै उच्च मूल्य मानिएको थियो। तर आइतबार त्यसलाई पनि नाघ्दै नयाँ कीर्तिमान कायम भएको हो।सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदीको मूल्य तोलामा २ हजार ८ सय १० रुपैयाँ पुगेको छ। नेपाली बजारमा चाँदीको मूल्य यसअघि कहिल्यै यति माथि पुगेको थिएन।

बिश्व बजारमा देखिएको अस्थिरता, अमेरिकी डलरको उतारचढाव, तेलको मूल्य, र भू–राजनीतिक तनावले सुनचाँदीको भाउमा प्रभाव परेको बताइन्छ। सुरक्षित लगानीका रूपमा सुनमा बढ्दो आकर्षणका कारण मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन्।

सुनचाँदीको मूल्य वृद्धिले गहना किन्ने उपभोक्ताहरू प्रभावित भएका छन् भने व्यवसायीहरू बिक्रीमा मन्दी आएको बताउँछन्। “लोग्ने–स्वास्नीको जोडी औँठी पनि किन्न गाह्रो भयो,“ एक गहना पसलका ग्राहकले प्रतिक्रिया दिए।

उता व्यवसायीहरू भन्छन्, “मूल्य अत्यधिक बढेकाले ग्राहकहरू हेरेर मात्र फर्किन्छन्। बिक्री घटेको छ।“


सम्बन्धित समाचार
भर्खरै