१२ असोज, काठमाडौं । क्रिकेट इतिहासको एक ऐतिहासिक दिन आज दुबईमा कोरिन लागिएको छ। एसिया कप क्रिकेटको ४१ वर्षे इतिहासमा पहिलोपटक भारत र पाकिस्तान उपाधि भिडन्तमा आमनेसामने हुँदैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि सुरु हुने यो खेलले विश्वभरका करोडौं क्रिकेटप्रेमीहरूको ध्यान तानेको छ।
यसअघि समूह चरण र सुपर फोरमा दुई पटक भेट हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरिसकेको छ। तर, आजको फाइनल भिडन्तसँगै परिस्थितिहरू फरक छन्। दुवै टिम उपाधिको लागि जुझ्न तम्तयार छन्, र मैदानको साथसाथै मैदानबाहिर पनि वातावरण निकै तातिएको छ।
भारत अपराजित यात्रासँगै फाइनल पुगेको छ। ब्याटिङमा अभिषेक शर्माले ३०९ रनसहित अग्रस्थानमा छन् भने बलिङतर्फ कुलदीप यादव १३ विकेटसहित शीर्षमा छन्। पेसर जसप्रित बुम्राह पनि पावरप्लेमा किफायती बलिङ गर्दै आएका छन्।
उता, पाकिस्तानले समूह चरणमा केही उतारचढाव देखाए पनि निर्णायक खेलमा बंगलादेशलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो। कप्तान सलमान आघाले भारतलाई हराउने योजनासाथ टिम तयार रहेको बताएका छन्।
तर, यो भिडन्त केवल खेलमै सिमित छैन। हालैको भारत–पाकिस्तानबीचको सैनिक तनावले खेलमा पनि असर पारेको छ। खेलाडीहरूको व्यवहार, मैदानमा देखिएको तिक्तता र बढ्दो दबाबले आजको खेललाई राजनीतिक र भावनात्मक रूपमा झनै महत्वपूर्ण बनाएको छ।
भारतका कप्तान सूर्यकुमार यादवले टिम डर नभई योजनामै ध्यान केन्द्रित गर्ने बताएका छन्। पाकिस्तान कप्तान सलमान आघा भने फाइनलमा नयाँ ऊर्जा र रणनीतिसहित मैदानमा ओर्लने दाबी गर्छन्।
भारत: अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, सन्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रित बुम्राह।
पाकिस्तान: शाहिबजादा फरहान, फखर जमन, सायम अयुब, हुसैन तलत, मोहम्मद नवाज, सलमान आघा (कप्तान), फहीम अशरफ, मोहम्मद हारिस (विकेटकिपर), शाहिन अफ्रिदी, हारिस राउफ, अबरार अहमद।
दुबईको सेन्ट्रल पिचमा खेलिने यो फाइनलमा औसत पहिलो इनिङ स्कोर १५६ रन रहेको तथ्यले स्पीनरहरू निर्णायक हुन सक्ने संकेत दिएको छ। ३६ डिग्रीसम्मको गर्मी, डियूको सम्भावना र टसको प्रभावले रणनीतिमा ठुलो भूमिका खेल्नेछ।
एशियन क्रिकेट काउन्सिलले स्टेडियम फुल हाउस हुने बताएको छ। आजको यो खेल केवल एउटा उपाधिको लागि मात्र नभई भारत–पाकिस्तानबीचको पहिलो एसिया कप फाइनलको रूपमा इतिहासमा दर्ज हुने निश्चित छ।

















