Logo

१२ असोज, काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैटौं अधिवेशनका गतिविधि समेटिएको विस्तृत विवरण सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको विवरणमा १२ वटा मुख्य बुँदामा अधिवेशन अवधिमा सम्पन्न कार्यहरूको जानकारी दिइएको छ।

प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते सुरु भई भदौ २७ गतेसम्म सञ्चालनमा रहेको थियो। कुल १४१ दिनसम्म अधिवेशन चलेकोमा ५९ दिनमा ६१ पटक बैठक बसेका थिए।

यसै अधिवेशन अवधिमा भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो, जसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। नयाँ सरकार गठन नहुँदा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। सोही सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०८३ फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेका छन्।

सार्वजनिक विवरणअनुसार अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट पारित गरेको थियो। बजेटसँग सम्बन्धित विधेयकहरू समेत पारित गरिएका थिए।

विधेयकको अवस्था यस्तो छ:

  • अधिवेशनमा १० वटा सरकारी विधेयक दर्ता भएका थिए।

    • ३ वटा संघीय संसद् दुबै सदनबाट पारित

    • २ वटा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइयो

    • ४ वटा समितिमा विचाराधीन

    • १ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न

  • अघिल्ला अधिवेशनबाट प्राप्त १८ सरकारी र २ गैरसरकारी विधेयकहरूमध्ये ४ वटा संघीय संसद्बाट पारित

  • संघीय निजामति सेवा विधेयक र जलस्रोत विधेयक सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल

  • विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश

  • १० वटा विधेयक समितिमा विचाराधीन, २ वटा गैरसरकारी विधेयक दर्ता मात्रको अवस्थामा

  • राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक टेबुल मात्र

  • राष्ट्रिय सभाबाट उत्पत्ति भई प्रतिनिधिसभामा आएको पानी जहाजसम्बन्धी विधेयक समितिमा विचाराधीन

  • राष्ट्रिय सभाबाट प्राप्त ७ विधेयकमध्ये शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भई फिर्ता पठाइएको, बाँकी विधेयकहरू समितिमा विचाराधीन

सांसदहरूले उठाएका प्रश्नहरूको अवस्था:

प्रतिनिधिसभामा सांसदहरूद्वारा विभिन्न मन्त्रालयसँग सम्बन्धित १७७ वटा मौखिक र १० वटा लिखित प्रश्न दर्ता गरिएका थिए।

  • १६४ वटा मौखिक प्रश्नको उत्तर प्राप्त

  • ९ वटा लिखित प्रश्नको उत्तर प्राप्त

प्रतिनिधिसभाको छैटौं अधिवेशनले मुलुकको नीति निर्माण, विधायन प्रक्रिया तथा सरकार सञ्चालनमा महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको संसद् सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार