१२ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायमा व्यापक आगजनी भएको छ। प्रारम्भिक विवरण अनुसार, मन्त्रालय परिसर, सडक विभाग, मन्त्री निवास र यातायात व्यवस्था विभागमा करिब ६० युनिट सवारीसाधनमा आगो लागेर अधिकांश पूर्णरूपमा जलेका छन् भने दुई युनिट सवारीसाधन बेपत्ता रहेका छन्।
मन्त्रालयका अनुसार जलाइएको सवारीसाधनमा निजी स्कुटर र अन्य सवारीसाधनहरू पनि रहेका छन्। जलाएका सवारीमध्ये दुई पाङ्ग्रे २६ युनिट रहेको बताइएको छ।
यस्तै, आगजनीबाट कर्मचारी प्रशासन शाखामा रहेको कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफासेट, पंखा र झ्यालमा पनि क्षति पुगेको छ। यातायात व्यवस्था शाखाको शौचालयको झ्याल र चालक आराम कक्षमा समेत विभिन्न वस्तुहरू क्षतिग्रस्त भएका छन्।
सचिव बैठक कोठाका झ्याल, मूल ढोका, टहरो, ह्वाइट बोर्ड, सोफा, टुल लगायत दर्जनौं वस्तु चोरी र क्षतिग्रस्त भएको प्रारम्भिक अध्ययनमा उल्लेख छ। मन्त्रालयले आगजनी र क्षतिको पूरै विवरण संकलन गरिरहेको छ।
यो घटनाले मन्त्रालयको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ र अनुसन्धान सुरु गरिएको छ।

















