१२ असोज, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा पार्टीको केन्द्रीय सचिवालय बैठक केहीबेर अघि सुरु भएको छ। जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक भएकाले यसलाई राजनीतिक रुपमा निकै महत्वपूर्ण रुपमा हेरिएको छ।
बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनका क्रममा भएको जनधनको क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीले अबलम्बन गर्ने रणनीतिहरूमा व्यापक छलफल हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
२३ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत खर्बौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यसैबीच, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन जारी गरेको विज्ञप्तिमा जेनजी युवा आन्दोलनमा सरकारको गोली चलाउने आदेश नभएको र प्रहरीले प्रयोग गर्ने हतियारभन्दा बाहिरका हतियारबाट गोली चलेको दाबी गरेका छन्।
एमाले सचिवालय बैठकबाट आगामी राजनीतिक रणनीति र आवश्यक निर्णयहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।















