Logo

१२ असोज, काठमाडौं ।  तमिलनाडुको करुरमा शनिबार अभिनेता थलापति विजयको राजनीतिक र्‍यालीको क्रममा भएको भीड नियन्त्रणमा समस्या भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने ९५ जना घाइते भएका छन्।

तमिलनाडुका स्वास्थ्य सचिव पी सेन्थिल कुमारका अनुसार मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ। घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् भने जिल्लामा आपतकालीन प्रोटोकल समेत लागू गरिएको छ।

दुर्घटनापछि अभिनेता विजयले सामाजिक सञ्जाल एक्समा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू असह्य पीडामा रहेको बताएका छन्। “मेरो मन भाँचिएको छ। म असह्य पीडा र दुःखमा छु,” उनले लेखेका छन्।

यस घटनाको छानबिनका लागि उच्च अदालतका सेवानिवृत्त न्यायाधीश अरुणा जगदीसनको नेतृत्वमा एक सदस्यीय जाँच आयोग गठन गरिएको छ।

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र तमिलनाडुका गभर्नर आर.एन. रविले समेत मृतक परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पीटीआईका अनुसार, विजयले र्‍याली सम्बोधन गरिरहेको समयमा भीड अनियन्त्रित बन्दै जाँदा धेरै मानिस बेहोस भएका थिए र असामान्य भिडका कारण उक्त दुर्घटना भएको हो।

यो घटनाले तमिलनाडुमा राजनीतिक र्‍याली तथा सार्वजनिक कार्यक्रमहरूमा सुरक्षा व्यवस्थामा सुधार गर्न आवश्यक रहेको पुनः सन्देश दिएको छ।


सम्बन्धित समाचार