१२ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । गृह मन्त्रालयको पहलमा गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई परिचयपत्र वितरण गरेका छन् ।
यस्तै, घाइतेहरुको उपचार सहज बनाउन काठमाडौं उपत्यका र देशभर १६ अस्पतालमा डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएको छ । अस्पतालसम्म नि:शुल्क आउजाउको व्यवस्था समेत गरिएको मन्त्रालयले जनाएको छ । अस्पतालहरूमा उपचारका लागि फोकल व्यक्ति पनि तोकिएको छ ।
काठमाण्डौमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल, घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेलधुरा र धनगढीका गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
घाइतेहरुलाई आवश्यक सहयोग र उपचार सहज बनाउन यो पहल गरिएको भन्दै मन्त्रालयले निरन्तर सेवा दिइने बताएको छ ।

















