२ असोज,गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले पक्राउ परेका कैदीबन्दीहरूलाई सम्बन्धित कारागार र सुधार गृहमा पठाइएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, कास्की कारागारबाट सात जना, केन्द्रीय कारागार जगन्नाथदेवलबाट तीन जना, तनहुँ कारागारबाट एक जना र बालसुधार गृह सानोठिमी भक्तपुरबाट एक जना कैदीबन्दी पक्राउ परेका हुन् । कास्कीबाट पक्राउ पर्नेहरूमा विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा रहेका छन् ।
केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पनि पक्राउ गरी कारागारमा चलान गरिएको छ । तनहुँबाट भागेका विशाल उपरकोटी र बालसुधार गृहबाट भागेकी सुस्मा मग्रातीलाई पनि प्रहरीले गोरखाबाट पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक विकले पक्राउ परेकाहरूलाई केही समय जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेर कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित स्थानमा पठाइएको बताए । पक्राउ परेकामध्ये धेरै गोरखा घर भएका छन् भने केही जिल्ला बाहिरका रहेको जनाइएको छ ।
प्रदर्शनका क्रममा भागेका अन्य कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।















