१३ असोज, काठमाडौँ । भारतले एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जित्नलाई १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले ५३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको अविजित इनिङ खेले ।
मध्यगतिका बलर फहिम अशरफले दोस्रो ओभरको पहिलो बलमा अोपनर अभिषेक शर्मालाई ५ रनमा हरिस रौफबाट क्याच गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । अफस्टम्प केन्द्रित स्वलो बलमा ठूलो सट खेल्ने धुनमा यस प्रतियोगिता उत्कृष्ट लयमा रहेका उनी आउट भएपछि भारत दबाबमा परेको थियो ।
खराब लयबाट गुज्रिएका सूर्यकुमार यादव फाइनलमा शाहिन शाह अफ्रिदीको बलमा एक रनमा कप्तान सलमान अली अघाबाट क्याच आउट हुन पुगे । फहिमले शुभमन गिललाई १२ रनमा क्याच आउट गरेपछि भारत ४ ओभरमा २०–३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि सञ्जु स्यामसन र तिलक बर्माले ५७ रनको साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । स्पिनर अब्रार अहमदको १३ औं ओभरको दोस्रो बलमा अफ साइडको बल ठूलो सट खेल्ने धुनमा एज लागेर सञ्जु २४ रनमा क्याच आउट भए । सञ्जुले २१ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । त्यसअघि अब्रारकै ओभरमा हुसेन तालतले ब्यक्तिगत १२ रनमा सञ्जुको क्याच छाड्न पुगेका थिए ।
शिबम दुबेले २२ बलमा २ चौका र २ छक्कासहित ३३ रनको महत्वपूर्ण इनिङ खेले । पाकिस्तानका फहिम अशरफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । अब्रार अहमदले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३-१ को अवस्थामा रहेको पाकिस्तानका ब्याटरले स्पिन खेल्न नसकेपछि बाँकी ३३ रन जोड्न ९ विकेट गुमाएपछि विशाल योगफलको अवसर गुमाएको हो ।
पाकिस्तानका ओपनर शहिबजादा फरानले ३८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए । उनको यो भारतविरुद्ध लगातार दोस्रो अर्धशतक हो ।
पाकिस्तानलाई ओपनर शहिबजादा फरान र फखर जमानले ९.४ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फखर जमान ३५ बलमा २ चौका र २ छक्कासहित ४६ र सैम अयुब १४ रनमा आउट भए । पाकिस्तानका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुलदीप यादवले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र बरुण चक्रवर्तीले २(२ विकेट लिए ।
भारतले यसअघि ( सन् १९८४, १९८८, १९९०र ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३० मा एसिया कप उपाधि जितेको थियो । पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।

















