१३ असोज, काठमाडौँ । आज महान् चाड दशैँको फूलपाति पर्व देशभर मनाइँदै छ। तर दसैँको रमाइलोमा पनि मौसम पूर्ण रूपमा सफा छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको असरका कारण विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको आगामी २४ घण्टाको मौसम बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने जनाइएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराई भू-भागका एक-दुई स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशसहित अधिकांश प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने देखिएको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार सोमबार बिहानैदेखि राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसमविद्हरूले यसलाई सामान्य मौसमी चक्रको निरन्तरता बताउँदै यात्रु तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।















