Logo

१३ असोज, काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताको राहदानी रोक्का गर्ने सम्बन्धमा जाँचबुझ आयोग, २०८२ ले गरेको सिफारिसप्रति कडा आपत्ति जनाएको छ।

भक्तपुरको गुण्डुमा आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो कदमलाई राजनीतिक प्रतिशोधको अभिव्यक्ति भन्दै विरोध गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले दशैँको अवसर पारेर सरकारले चालेको कदमले आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरे।

ज्ञवालीले भने, “भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि नै गृह मन्त्रालयमार्फत दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।”

बैठकले आयोगको कदमलाई प्रतिशोधपूर्ण निर्णयको संज्ञा दिँदै यसले अपराध अनुसन्धानको निष्पक्ष प्रक्रियामा बाधा पुर्‍याउने निष्कर्ष निकालेको छ।

एमालेले भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नगर्न नेपाल प्रहरीलाई गृह मन्त्रालयले दिएको निर्देशनप्रति पनि आपत्ति जनाएको छ। सचिवालय बैठकले सो निर्देशन अपराधीको मनोबल बढाउने र उन्मुक्ति दिने खतरनाक मनशाय बोकेको आरोप लगाएको छ।

ज्ञवालीले नेपाल प्रहरीलाई स्वतन्त्र र निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।

एमालेले पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल गरी आवश्यक निर्णय लिन पार्टी केन्द्रीय कमिटीको दशौँ बैठक काठमाडौँमा असोज २७ देखि २९ गतेसम्म बस्ने जानकारी दिएको छ।


सम्बन्धित समाचार
भर्खरै