१३ असोज, काठमाडौँ । अमेरिकाको मिशिगन राज्यस्थित एक चर्चमा आइतबार भएको बन्दुक आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ।
स्थानीय प्रहरीका अनुसार ग्रान्ड ब्ल्याक सहरस्थित जिसस क्राइस्ट अफ लेटर डे सान्ट्स चर्चमा बिहानको प्रार्थनाका क्रममा ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड नामक बन्दुकधारीले गाडीसहित चर्च परिसरमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। स्वचालित राइफल प्रयोग गरी गरिएको सो आक्रमणमा ४ जनाको मृत्यु भएको र घटनास्थलमै आक्रमणकारी समेत मारिएको प्रहरीले जनाएको छ।
आक्रमणपछि चर्चमा आगलागी भएको र संरचनात्मक रूपमा ठूलो क्षति पुगेको बताइएको छ। प्रहरीले केही मानिस अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै उद्धार तथा खोजतलास कार्य जारी रहेको जनाएको छ।
आक्रमणको कारण अहिलेसम्म प्रष्ट भएको छैन। तर घटनापछि त्यहाँको सुरक्षालाई कडा पारिएको छ। अनुसन्धानकर्ताहरूले आक्रमणकारीको पारिवारिक पृष्ठभूमि, मानसिक अवस्था तथा सम्भावित घृणा अपराधसँगको सम्बन्धबारे अध्ययन गरिरहेका छन्।
यसअघि केही घण्टाअघि मात्र अमेरिकाको नर्थ क्यारोलिनास्थित साउथपोर्ट सहरमा भएको अर्को गोलीकाण्डमा ३ जनाको मृत्यु भएको थियो। त्यसलगत्तै मिशिगनमा अर्को त्रासदीपूर्ण घटना घटेको हो।
अमेरिकामा बन्दुकसम्बन्धी हिंसा रोकथाममा चुनौती थपिँदै गएको विश्लेषण हुँदै आएको छ। पछिल्ला केही महिनामा सार्वजनिक स्थल र धार्मिक आस्थामाथि लक्षित आक्रमणको संख्या बढ्दो क्रममा रहेको बताइन्छ।

















