१३ असोज, काठमाडौँ । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनको क्रममा ललितपुरस्थित नख्खु कारागारमा भएको तोडफोड, आगजनी र आक्रमणका कारण १ हजार २८० जना कैदीबन्दी कारागारबाट भागेका थिए।
उक्त घटनापछि हालसम्म ५८७ जना कैदी स्वेच्छाले कारागारमा फर्किएका छन् भने केहीलाई अन्यत्र पुनःस्थापित गरिएको छ। तर अझै ६५१ जना कैदी फरार नै रहेका छन्। कारागार प्रशासनले पटकपटक सूचना जारी गरेर स्वेच्छाले फर्किन आग्रह गरे पनि उनीहरू सम्पर्कमा आएका छैनन्।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूलाई स्वेच्छिक आत्मसमर्पणका लागि असोज २० गते सोमबारसम्मको समय सीमा दिएको छ। विभागका अनुसार सो म्यादभित्र नफर्किनेहरूमाथि कारागार ऐन, २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
विभागले फरार कैदीहरूलाई खोजी गर्न र कारागारमा पुनःस्थापित गर्न कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र सरोकारवाला सबै पक्षसँग सहकार्य गर्न आग्रह गरेको छ।
फरार कैदीहरूले आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था मिलाइएको पनि विभागले स्पष्ट पारेको छ।
सार्वजनिक सुरक्षाको दृष्टिकोणले गम्भीर मानिएको यस घटनालाई लिएर कारागार सुधार तथा सुरक्षा व्यवस्थालाई कडाइका साथ पुनरावलोकन गर्ने तयारी समेत सरकारले गरिरहेको जनाइएको छ।















