Logo

१३ असोज, काठमाडौँ । केही शंकास्पद वस्तु फेला पर्न सक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित उपत्यकाका विभिन्न स्थानहरूमा एकैसाथ छापा मारेको छ।

सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार आइतबार दिउँसो काठमाडौं उपत्यकाका ४ देखि ५ वटा स्थानमा छापा मारिएको हो। “हामीले अनुसन्धानका क्रममा केही सूचना प्राप्त गरेका थियौं। त्यसकै आधारमा छापा मारिएको हो,” एआईजी केसीले बताए।

छापाको क्रममा जावलाखेलस्थित भूषण राणाको घरमा पनि प्रहरी पुग्दा उनी घरमा थिएनन्। प्रहरीले शंका लागेका विभिन्न सामाग्रीमा खानतलासी गरेको बताइएको छ। तर अनुसन्धानकै संवेदनशीलता भएकाले के के बरामद भयो भन्ने जानकारी हाल खुलाइएको छैन।

भूषण राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाई हुन्। स्रोतका अनुसार आरजु राणाले गरेका विभिन्न डिलमा भूषण प्रतिनिधिका रूपमा संलग्न हुने गरेका थिए। यसअघि पनि उनी ठेक्का–पट्टासम्बन्धी विवादहरूमा तानिँदै आएका थिए।

यता, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा भएको आगजनी प्रकरणमा जलेका नोटहरू फेला परेको विषयमा सम्पत्ति शुद्धिकरण विभागले छुट्टै अनुसन्धान गरिरहेको छ। त्यही सिलसिलामा भूषण राणाको भूमिकालाई लिएर समेत शंका उत्पन्न भएको बताइएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभाग हालको सरकारले पुनः सम्बन्धित मन्त्रालयमा फिर्ता गरेसँगै यसको भूमिका फेरिएको छ।

भूषण राणाको घरमा सीआईबीले मारेको छापाले राजनीतिक वृत्त र आम जनमानसमा व्यापक चासो र चर्चा उत्पन्न गराएको छ। यद्यपि प्रहरी अनुसन्धान जारी रहेकाले थप विवरण खुलाउने अवस्था नरहेको अधिकारीहरूले जनाएका छन्।


सम्बन्धित समाचार
भर्खरै