Logo

१४ असोज, काठमाडौँ । गाजामा युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सहमत भएका छन्। सोमबार राति वासिङटनस्थित ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुबै नेताले युद्धविरामका लागि सहमति भएको जानकारी दिएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनअघि नै ह्वाइट हाउसले गाजामा युद्ध रोक्ने र भविष्यको शासन संरचना तय गर्ने उद्देश्यसहित २० बुँदे योजना सार्वजनिक गरेको थियो। उक्त योजनामा युद्धविरामसँगै दीर्घकालीन शान्ति स्थापनाका लागि ठोस कदमहरू समेटिएका छन्।

राष्ट्रपति ट्रम्पले यो दिनलाई “शान्तिको लागि ऐतिहासिक दिन” भन्दै हमासले प्रस्ताव अस्वीकार गरेमा अमेरिकाले इजरायलको कदमलाई पूर्ण समर्थन गर्ने घोषणा गरे। प्रधानमन्त्री नेतान्याहूले पनि हमासले योजना अस्वीकार गरे इजरायलले “आफ्नो काम पूरा गर्ने” चेतावनी दिएका छन्।

ह्वाइट हाउसको प्रस्तावअनुसार हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धकलाई तुरुन्त रिहा गर्नुपर्नेछ। मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ। यसको सटहीमा इजरायलले सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ, जसमा आजीवन कारावासको सजाय भोगिरहेका कैदीहरू पनि समावेश हुनेछन्।

प्रस्तावमा हमासलाई हतियार राख्न नदिने, भूमिगत सुरुङ तथा हतियार उत्पादन सुविधा नष्ट गर्ने व्यवस्था गरिएको छ। साथै, भविष्यमा स्वतन्त्र प्यालेस्टिनी राज्य गठनको सम्भावना खुला राखिएको छ।

अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा गाजामा अस्थायी रूपमा एक प्राविधिक तथा अराजनीतिक प्यालेस्टिनी समितिद्वारा शासन गरिने व्यवस्था छ। सो समितिलाई “शान्ति बोर्ड” नामक अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायको निरीक्षणमा राखिनेछ। ह्वाइट हाउसले यस निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने स्पष्ट पारेको छ।

प्रस्ताव सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिक्रियाहरू आएका छन्। बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले यसलाई स्वागत गर्दै “हमासले योजना स्वीकार गरी हतियार त्याग्नुपर्छ र सबै बन्धकलाई मुक्त गर्नुपर्छ” भने । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले युद्ध अन्त्य गर्ने र दुई राज्य समाधानको आधारमा स्थायी शान्ति स्थापना गर्न सबै साझेदारलाई गहन छलफलमा आउन आह्वान गरे । युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले नेतान्याहूको सकारात्मक प्रतिक्रियालाई “उत्साहजनक” भनेका छन्।

कतार र इजिप्टमार्फत प्रस्ताव हमासलाई बुझाइएको छ। अब हमासको प्रतिक्रिया नै युद्धविराम र भविष्यको शान्ति प्रक्रियाको दिशानिर्देशक हुने बताइएको छ।


सम्बन्धित समाचार