१४ असोज, काठमाडौँ । दशैँमा मानिसको यात्रा र जमघट बढेकाले डेंगी संक्रमण फैलन सक्ने जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। असोज लागेसँगै लगातारजसो परेको वर्षाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बनेको हुँदा आगामी केही हप्तामा संक्रमणको दर तीव्र हुन सक्ने अनुमान गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत एक हप्तामै देशभर दुई सय ९४ जना नयाँ संक्रमित थपिएका छन्। सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म पाँच हजार एक सय ९६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कम भए पनि अबको केही हप्ता उच्च सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।
ईडीसीडीअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष ७५ जिल्लामा डेंगी फैलिएको छ। “हालसम्म कुनै पनि स्थानलाई ‘हटस्पट’ भन्न सकिने अवस्था छैन, तर, मौसम र मानिसको आवागमनका कारण जोखिम भने बढिरहेको छ।” उनले भने ।
अहिले तराईदेखि पहाडी जिल्लासम्म डेंगी संक्रमण देखिन थालेको छ। दशैँका अवसरमा धेरै मानिसहरू पहाडी क्षेत्रमा जाने भएकाले त्यहाँ संक्रमण फैलने जोखिम बढी हुने डा. दाहालको भनाइ छ।
सावधानीका उपाय
स्वास्थ्य विज्ञहरूले सरसफाइमा विशेष ध्यान दिन, घर वरिपरिको पानी जम्न नदिने, लामखुट्टेबाट बच्ने उपाय अपनाउने, समयमै स्वास्थ्य परीक्षण गराउने लगायतका सावधानी आवश्यक रहेको बताएका छन्। उच्च ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उनीहरूले आह्वान गरेका छन्।
सरकारले स्थानीय तहमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्न, लामखुट्टे नियन्त्रणका लागि नियमित फगिङ र सरसफाइ अभियानलाई तीव्रता दिन समेत आग्रह गरेको छ। स्वास्थ्य अधिकारीहरूले दशैंको यात्रा र भीडभाडका समयमा व्यक्तिगत सुरक्षा मापदण्ड पालन गर्न सबैलाई अनुरोध गरेका छन्।

















