१४ असोज, काठमाडौँ । दशैँको महाअष्टमी आज देशभर मनाइँदैछ। घरघरमा खसी, बोका, राँगा, च्याङ्ग्रालगायत पशुपंक्षीको बलि दिइ मासु खाने परम्परा रहेको छ। यद्यपि, चिकित्सकहरूले यस पर्वमा अत्यधिक मासु सेवन र अस्वस्थ पकाउने तरिकाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीका अनुसार, दशैँताका अस्वस्थ खानपानका कारण उच्च रक्तचाप, मुटु, मधुमेह, ग्यास्ट्रिक, कब्जियत र झाडाबान्ताका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।
“बोसो नभएको ताजा मासु थोरै–थोरै गरेर खान सकिन्छ,” डा. अधिकारी भन्छन्, “तर धेरै पकाएर लामो समयसम्म राखेर खानु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ।”
मासु पकाउने तरिकामा विशेष ध्यान दिनुपर्ने सुझाव दिंदै डा. अधिकारी भन्छन्, “पोलेर, भुटेर वा तारेर पकाएको मासु स्वास्थ्यका लागि बढी हानिकारक हुन्छ।”बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. गुरुशरण साह पनि यसैमा सहमत छन्। उनका अनुसार, “रातो मासु पोल्दा वा धेरै भुट्दा क्यान्सर उत्पन्न गर्ने तत्वहरू बन्न सक्छन्।”
उनले सन्तुलित आहारको सल्लाह दिँदै भने, “बासी मासु नखाने, सागसब्जी, गेडागुडीलाई भोजनमा समावेश गर्ने, र कुखुराको मासु वा माछा रोज्ने उत्तम हुन्छ।”वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुरका अनुसार, बोसो भएको मासुलाई आगोमा पोलेर खाँदा उत्पन्न हुने रासायनिक प्रतिक्रियाबाट आन्द्राको क्यान्सरको खतरा बढ्छ। “धुवाँ र मासु मिसाएर प्रशोधन गरिँदा क्यान्सर हुने सम्भावना दोब्बर हुन्छ,” उनी भन्छन्।
चितवन मेडिकल कलेजका डा. सौरभ खतिवडा भन्छन्, “बोसोयुक्त मासु र अस्वस्थ परिकार सेवनले मोटोपनासँगै रगतमा चिनीको मात्रा पनि धेरै समयसम्म उच्च राख्छ, जसले मधुमेहको जोखिम बढाउँछ।” उनका अनुसार, यस्तो खानाले एलडिएल कोलेस्ट्रोल र ट्राइग्लिसिराइड बढ्ने खतरा हुन्छ।
मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले दशैँमा खासगरी हाइपरटेन्सन, मधुमेह र उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूले मासु, चिल्लो, मिठाइ जस्ता परिकारमा विशेष ध्यान दिनुपर्ने बताए।“चिल्लो, छाला र बोसो नभएको मासु थोरै मात्रामा खान सकिन्छ,” उनी भन्छन्, “जिब्रोको स्वादका लागि थोरै खाना समस्या होइन, तर अत्यधिक सेवनले रोग निम्त्याउन सक्छ।”
साकाहारीहरूले चाडपर्वमा बढी मात्रामा मिठाइ, पनिर, चिल्लो परिकार खाने गर्छन्। तर चिकित्सकहरूको चेतावनी छ – यी परिकार पनि स्वास्थ्यमा खराब असर पार्न सक्छन्।“लामो समयदेखि राखिएको मिठाइले शरीरमा विषादी प्रभाव पार्न सक्छ,” डा. अधिकारी भन्छन्, “पनिर धेरै खाँदा कोलेस्ट्रोल बढ्ने जोखिम हुन्छ।”

















