१४ असोज,ठोरी । पर्सा जिल्लाकै ग्रामीण क्षेत्रमा हुनेमध्ये सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ठोरी गाउँपालिकामा सोमबारदेखि सुरु भएको छ। ठोरी-४ को विजयवस्ती खेल मैदानमा सुरु भएको यस प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट कुल १६ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा चितवन, मकवानपुर, सर्लाही, झापा, बारा र पर्साका टोलीहरूले भाग लिएका छन्। आगामी कात्तिक ४ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित यो चौथो संस्करणको प्रतियोगिता हो। ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै यसले ठोरीमा खेलकुद पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
उद्घाटन खेलमा भरतपुर फुटबल क्लब (BFC) चितवनले मिलन युथ जमात झापालाई २-१ गोल अन्तरले पराजित गरेको छ। अब पहिलो चरणको दोस्रो खेल असोज १८ गते हुने आयोजकले जानकारी दिएको छ।


















